महाधिवेशन विवादले कांग्रेसमा रस्साकस्सी, केन्द्रीय समिति बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, नेपाली कांग्रेसमा १५औं महाधिवेशनको मितिलाई लिएर चर्किएको विवादका बीच आज केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। पटक-पटकको प्रयासमा पनि सहमति जुट्न नसकेको अवस्थामा आज दिउँसो १ बजे बस्ने बैठकलाई चासोका साथ हेरिएको छ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो भने शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो। महाधिवेशनको कार्यतालिकाबारे संस्थापन पक्ष र महामन्त्रीहरूले फरक-फरक प्रस्ताव अघि सारेपछि पार्टीभित्र विवाद बढेको हो।
पदाधिकारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन आम निर्वाचनअघि वा पछि गर्ने भन्ने विषयमा महासमिति सदस्यहरूबाटै मतदान गरेर टुंगो लगाउनुपर्ने प्रस्तावसमेत राखेका थिए।
केन्द्रीय समिति बैठकमा विवाद चर्किन नदिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको अन्तिम प्रयास थालेका छन्। उनले केन्द्रीय समिति बैठकअघि आज बिहान ९ बजे ललितपुरको धोबीघाटमा दुई महामन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाएका छन्। यही बैठकले निकाल्ने निष्कर्षले दिउँसो बस्ने केन्द्रीय कार्यसमितिको मार्गचित्र तय गर्ने देखिन्छ।


