बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् । स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी गराए ।

 

 

 

प्रकाशित : 2 November, 2025

प्रतिक्रिया दिनुहोस्