राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, राष्ट्रपति रामचन्द्र पौडेल कतारको औपचारिक भ्रमणका लागि आज (मंगलबार) त्यसतर्फ प्रस्थान गरेका छन्। उनी बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि प्रस्थान गरेका हुन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उनी ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा उडेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने महत्त्वपूर्ण कार्यक्रम रहेको छ। साथै, उनले कतारका अमिर शेख तमिम र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसंख्यामा देखिएको असन्तुलन र प्रविधिको सामाजिक प्रभाव जस्ता जल्दाबल्दा विषयमा गहन छलफल हुनेछ। सम्मेलनले सामाजिक विकासका लागि विश्वव्यापी सहकार्य र साझा प्रतिबद्धताको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।

आफ्नो तीन दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित : 3 November, 2025

प्रतिक्रिया दिनुहोस्