मनास्लु क्षेत्रमा हिमपात र वर्षाका कारण केही पर्यटक घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, केही दिनअघिको वर्षा र हिमपातका कारण मनास्लु क्षेत्र पुगेका पर्यटकहरुले निकै सास्ती भोग्नुपर्‍यो ।

पदयात्राका क्रममा पहिरोमा पुरिएर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा अझै बेपत्ता छिन् । सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट ढुंगासहित खसेको लेदो पहिरोमा उनी पुरिएकी हुन् ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना उनको खोजी कार्यमा खटिएका छन् । ‘इन्स्पेक्टर अनिल श्रेष्ठको नेतृत्वमा हाम्रो टोली खोजी कार्यमा जुटेको छ,’ प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले भने, ‘पहिरो पन्छाउने काम भइरहेको छ ।’ तटीय क्षेत्रमा पनि खोजी जारी राखिएको उनले बताए ।

यता, पाङबारी हिमाल चढ्ने क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कमा आएका छैनन् । ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षका एलेस्यान्ड्रो गपुटो सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

प्रकाशित : 3 November, 2025

प्रतिक्रिया दिनुहोस्