भारतीय समर्थनको भ्रामक दाबी नगर्न प्रसाईंलाई भारतको चेतावनी
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २३ , नेपालमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक प्रसाईंले गरेको गतिविधि र त्यसमा भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्तिप्रति भारतीय पक्ष असन्तुष्ट थियो ।

यो विषयमा असन्तुष्ट बनेको भारतीय पक्षले प्रसाईंलाई चेतावनी समेत दिएको थियो । नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईं नयाँदिल्लीबाट शुक्रबार काठमाडौं फर्कने क्रममा केरकारमा परेका थिए ।
एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’
अनावश्यक रुपमा भारतको समर्थन रहेको भन्दै अफवाह फैलाएको कारण भारतीय पक्ष असन्तुष्ट बनेको थियो । सोही क्रममा उनी गत सोमबार नेपाल एअरलायन्समार्फत दिल्ली पुगेका थिए ।
तर त्यतिबेला दिल्ली अध्यागमनले प्रसाईंलाई कुनै केरकार गरेन । सामान्य सोधपुछ गरेर छाड्यो । तर फर्कने बेलामा भने उनी केरकारमा परे ।
भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टा भन्दा बढी केरकार गर्यो । केरकारपछि प्रसाईं नेपाल एअरलायन्सको उडान नम्बर २१८ मार्फत उनी काठमाडौं आए ।


