मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २५ , मुगुमा सोमबार (कात्तिक २४) राति ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका निम्ति पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै थियो । दुर्घटनामा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रमुख बलवीर लावडले जानकारी दिए ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु र हुम्लाको अदानचुली गाउँपालिका–२ का २८ वर्षीय रेशम भण्डारी सख्त घाइते भएका लावडले बताए । घाइतेलाई जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुईजना मात्र सवार रहेका लावडले बताए । रासस

प्रकाशित : 11 November, 2025

प्रतिक्रिया दिनुहोस्