प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा :अध्ययनको निष्कर्ष
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५ ,नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको हो ।
प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरुमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको छ ।
उक्त सर्भेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरुले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो ।
त्यस क्रममा १.३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ। उक्त सूचीमा १.२२ अंक सहित इरान दोश्रो स्थानमा छ भने तेश्रो स्थानको दक्षण अफ्रिकाले १.२० अंक पाएको छ ।
सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरुमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।
यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुईवटा मात्रै युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औं स्थानमा रहेको छ ।
रोचक त के भने देशको बजारमैत्री अर्थतन्त्रको स्तर प्रदर्शन गर्ने विश्व बैंकको डोइंग बिजनेस इन्डेक्समा उच्च स्थानमा रहेका देशहरु प्राकृतिक वातावरणसँगको सम्बन्धको हिसाबले कमजोर देखिएका छन् ।
त्यसैगरी सहरीकरणको स्तर, औसत आय तथा इन्टरनेट प्रयोगको दरले पनि प्रकृतिसँगको आबद्धतालाई प्रभाव पार्ने देखिएको छ ।


