लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना पक्राउ​

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६ , लागुपदार्थ सेवन गरी काठमाडौं उपत्यकामा सवारी चलाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिइएको छ । उपत्यकाभरिमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजागाइँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जीप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेका प्रवक्ता सुवेदीले बताए ।

नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी मादक पदार्थ र लागुपदार्थलगायतका जाँचमा सधैं सक्रिय रूपमा खटिएको र नसालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्, मापसे, लापसे गरी सावरी चलाए धेरैको ज्यान जोखिममा हुन्छ । उक्त कार्य नगर्न हामी आग्रह गर्दछौं, अवज्ञा गरे कानून बमोजिम कारबाही हुन्छ ।’

प्रकाशित : 12 November, 2025

प्रतिक्रिया दिनुहोस्