पूर्वमन्त्री खड्काले भोगचलन गरिरहेको स्काउटको जग्गामा महानगरको डोजर

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७ , काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो ।

खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गर्दै आएको थियो ।

अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज विहान डोजर चलाइएको हो ।

स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आउनुभएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न सात दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।

 

प्रकाशित : 13 November, 2025

प्रतिक्रिया दिनुहोस्