एक महिनामै भित्रियो हालसम्मकै धेरै रेमिट्यान्स

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३० , असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो ।

असोज महिनामा ठूला चाडबाड धेरै हुने भएकाले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्छन् । यसले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.९ प्रतिशत बढी हो।

 

प्रकाशित : 16 November, 2025

प्रतिक्रिया दिनुहोस्