तनावग्रस्त बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४ , राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ ।

बारामा बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पुर्‍याउन समेत सम्बन्धित निकायलाई आयोगले आग्रह गरेको छ ।

आयोगका अनुसार बुधबार उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको पाइएको छ ।

देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन आयोगले ध्यानाकर्षण गराएको छ ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नपरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठूलो संख्यामा युवाको उपस्थिति रहेको छ ।

प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।

प्रकाशित : 20 November, 2025

प्रतिक्रिया दिनुहोस्