सरकारसँग भएको १० बुँदे सहमति दुर्गा प्रसाईं नेतृत्वको महाअभियानद्वारा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले नेपाल सरकारसँग १० बुँदे सहमति भएको दाबी गरेको छ। महाअभियानले अघि सारेका २७ बुँदे मागहरूमा केन्द्रित रहेर गएराति भएको वार्तापछि दुई पक्षबीच १० बुँदे सहमति जुटेको महाअभियानले जनाएको छ।

सरकारले यसअघि शनिबार बन्दका कार्यक्रम फिर्ता लिने सहितका केही सहमति सार्वजनिक गरेको भए पनि महाअभियानले भने विस्तृत रूपमा १० बुँदे सहमति भएको उल्लेख गरेको छ।

के-के छन् सहमतिका मुख्य विषय ?

सहमतिपत्रमा आर्थिक तथा बैंकिङ क्षेत्रका समस्या समाधानलाई प्राथमिकता दिइएको छ। लघुवित्त र सहकारीको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा गर्ने तथा सहकारी पीडितहरूको डुबेको रकम फिर्ता गराउने विषयमा सरकार, महाअभियान, सरोकारवाला निकाय र बचतकर्ता सम्मिलित एक संयन्त्र निर्माण गरी समस्या समाधान गरिने उल्लेख छ।

त्यस्तै, बैंक, वित्तीय संस्था, सहकारी तथा लघुवित्तबाट कालोसूचीमा परेका साना तथा ठुला व्यवसायीहरूलाई कालोसूचीबाट हटाउन नेपाल सरकार, महाअभियान र राष्ट्र बैंकबीच त्रिपक्षीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ।

यसैगरी, ‘जेनजी विद्रोह’का क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूलाई रिहाइ गर्ने प्रक्रिया तत्काल सुरु गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

राजनीतिक एजेन्डाहरू जस्तै– हिन्दु अधिराज्य, सङ्घीयता खारेजी र राजसंस्था पुनःस्थापनाका विषयमा जनमतसंग्रह मार्फत निर्णय लिनका लागि आगामी दिनमा महाअभियानका संयोजक र सरकारबीच हुने वार्तामा घनिभूत छलफल गरी निष्कर्षमा पुगिने सहमति भएको महाअभियानको दाबी छ।

प्रकाशित : 23 November, 2025

प्रतिक्रिया दिनुहोस्