एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास
सहयात्रा टिभी
काठमाडौं । मंसिर ७, नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थल बाहिर आक्रमणको प्रयास भएको छ। आइतबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि यस्तो प्रयास भएको हो।

उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।
सुरक्षा निकायले नेता बस्नेतमाथि सुरक्षा चुनौती रहेको विश्लेषण गर्दै उनको यो भ्रमणलाई पार्टी र सुरक्षा संयन्त्रमार्फत गोप्य राखेको थियो। विमानस्थलमा अवतरण हुनासाथ उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उनलाई सुरक्षाकर्मीको स्कर्टिङसहित सर्वसाधारण निस्कने निकासद्वारबाटै गन्तव्यतर्फ लगिएको थियो। यद्यपि, सुरक्षा निकायको ‘हाई अलर्ट’ र भ्रमणको गोपनीयताका बाबजुद उनीमाथि आक्रमणको प्रयास भएको हो।
नेता बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्। उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि विराटनगर आएका छन्।


