‘द फेमिली म्यान ३’ रिलिज : कस्तो छ सुनिल थापाको महत्त्वपूर्ण भूमिका ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, अन्ततः तीन वर्षको लामो प्रतीक्षा चिर्दै मनोज बाजपेयी अभिनित लोकप्रिय वेब सिरिज ‘द फेमिली म्यान’ को तेस्रो सिजन अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ। गत बिहीबारदेखि स्ट्रिमिङ सुरु भएको यो सिरिज हेरेपछि प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया र प्रशंसा व्यक्त गरिरहेका छन्।

यसपटकको नयाँ शृङ्खला नेपाली दर्शकका लागि थप विशेष बनेको छ, किनकि यसमा वरिष्ठ नेपाली अभिनेता सुनिल थापा पनि देखिएका छन्। थापाले सिरिजमा नागाल्याण्डका एमसीए प्रमुख तथा एक सम्मानित स्थानीय नेता ‘डेभिड खुजोउ’ को भूमिका निर्वाह गरेका छन्।

सिरिजको कथावस्तु अनुसार, खुजोउ (सुनिल थापा) भारतका उत्तरपूर्वी राज्यहरूमा शान्ति र विकास स्थापना गर्ने उद्देश्यले सरकारले ल्याएको ‘प्रोजेक्ट सहकार’ का एक प्रमुख व्यक्ति हुन्। सीमा क्षेत्रमा चिनियाँ हस्तक्षेप र स्थानीय विद्रोही समूहको सक्रियताका बीच यो परियोजना सफल बनाउन मुख्य पात्र श्रीकांत तिवारी (मनोज बाजपेयी) र एनआईएले खुजोउको सहयोग लिन्छन्। यद्यपि थापाको स्क्रिन टाइम सीमित छ, तर उनको चरित्रलाई सिजनको भूराजनीतिक कथाको केन्द्रबिन्दु र कथानकको मुख्य ‘ट्विस्ट’ (मोड) का रूपमा प्रस्तुत गरिएको छ।

तेस्रो सिजनले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहँदा अभिनेता मनोज बाजपेयीले चौथो सिजनको पनि औपचारिक घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनले लेखेका छन्, “सबै कुराको जवाफ चौंथो सिजनमा मिल्नेछ। चाँडै भेट्नेछौं।”

प्रकाशित : 23 November, 2025

प्रतिक्रिया दिनुहोस्