विवाहपञ्चमीको आज पाँचौ दिन मटकोर, विद्यालय तीन दिन बन्द, माछामासु बिक्रीमा रोक

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भारतको अयोध्या र वृन्दावनबाट साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्ति जन्तीका रूपमा आएका छन् । विवाहपञ्चमीको पाँचौँ दिन सोमबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ ।

जनकपुरका विद्यालय तीन दिन बन्द

विवाहपञ्चमी मेलाका कारण सोमबारदेखि मधेश प्रदेशका विद्यालय तीन दिन बन्द हुने भएको छ । रामजानकी विवाहपञ्चमीको अवसरमा धेरै भिडभाड हुने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको संस्थागत विद्यालयहरुको संस्थाले जनाएको छ ।

प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) विद्यालय बन्द रहने जानकारी गराएका हुन् । विज्ञप्तिमा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठूलो संख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनलाई बासस्थानका रूपमा प्रयोग गर्न अनुरोधसमेत गरिएको छ ।

यस्तै, विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्था मिलाउनलाई अपिलसमेत गरेका छन् ।

माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आइतबारदेखि तीन दिनसम्म माछा–मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि रोक लगाएको हो ।

विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहाद्र्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

सूचना विपरीत निषेधित क्षेत्रमा कार्य गरिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको हो ।

यसैबीच, विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

प्रकाशित : 24 November, 2025

प्रतिक्रिया दिनुहोस्