आफ्ना नातेदारलाई स्वकीय सचिव बनाएर सुशासन हुँदैन : अर्थमन्त्री खनाल

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रणाली बाहिरबाट आफ्ना नातेदारलाई स्वकीय सचिव बनाउने कुराले सुशासन नहुने बताएका छन् ।

बाहिरका मान्छे वा आफ्ना भान्जा–ज्वाइँलाई स्वकीय सचिव बनाएर ल्याएपछि के हुन्छ ?,’ अर्थमन्त्री खनालले भने, ‘मन्त्रालय वा कुनै निकायमा काम गर्दा उसले गरेको डकुमेन्टेसन वा स्मृति त्यो ज्वाइँ वा भान्जाले बोकेर हिँड्यो भने त्यो संस्थागत बनेन, हाम्रो स्पिरिट चाहिँ त्यसलाई संस्थागत बनाऔं भन्ने हो ।’

संघ, प्रदेश तथा स्थानीय तहका कतिपय पदाधिकारीले यसलाई गलत भयो भन्दै विरोध गरिरहेका छन् । बाहिरबाट नियुक्त गर्ने स्वकीय सचिव हटाउँदा कसैको पनि अधिकार कुण्ठित नभएको उनको तर्क छ ।

‘अब यस्तो गर्दा कसरी गलत भयो, यो कसको अधिकार कुण्ठित भयो ?,’ उनले भने, ‘जेनजीले सुशासन मागेको होइन ? सुशासनका लागि नै यो गरिएको हो ।’

त्यही भएर आफूले अर्थ तथा संघीय मामिला मन्त्रालयमा निजी सचिवालय नै विघटन गरिदिएको उनले बताए । मन्त्रालयमा सरकारी कर्मचारीको एउटा सचिवालय र स्वकीय सचिवालय राख्दा मन्त्री वा पदाधिकारीसँग समान पहुँच पनि नहुने उनले बताए ।

 

प्रकाशित : 25 November, 2025

प्रतिक्रिया दिनुहोस्