श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, श्रीलंकामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौं मानिसहरू विस्थापित भएका छन् ।

डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

डीएमसीका अनुसार बाढीका कारण पूर्ण प्रभावित बदुल्ला जिल्लामा सबै भन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ । यसै गरी हम्बनटोटा र कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको छ ।

निरन्तरको वर्षाले मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् । आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित : 27 November, 2025

प्रतिक्रिया दिनुहोस्