सरकारले गैरघातक हतियार खरिद गर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२ , सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो ।

‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने ।

उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउने भएकाले गैरघातक हतियार आवश्यक भएको निष्कर्षमा सरकार पुगेको हो ।

गृहमन्त्री अर्यालका अनुसार खरिद गरेर र वैदेशिक सहायताबाट गैरघातक हतियारको जोहो गर्ने र आगामी दिनमा घातक हतियार प्रयोग कम गर्ने नीतिमा सरकार अगाडि बढ्नेछ ।

 

 

प्रकाशित : 28 November, 2025

प्रतिक्रिया दिनुहोस्