परान बन्यो सर्वाधिक कमाइ गर्ने छैटौँ चलचित्र, ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को रेकर्ड तोड्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर १६, वरिष्ठ अभिनेता नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा ऐतिहासिक सफलता हात पार्दै नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको ३० औं दिन अर्थात् मंसिर १३ गतेसम्म आइपुग्दा फिल्मले १६ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ । सिनेपा बक्सअफिसको पछिल्लो तथ्यांकअनुसार शनिबारसम्म फिल्मले ५ लाख ६९ हजार ७ सय ५४ थान टिकट बिक्री गर्दै कुल १६ करोड १६ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ ग्रस कमाइ गरेको हो ।

यो लोभलाग्दो कमाइसँगै ‘परान’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने फिल्महरूको सूचीमा छैटौं स्थानमा उक्लिएको छ । बक्सअफिसको यो दौडमा फिल्मले यसअघिका चर्चित ब्लकबस्टर चलचित्रहरू ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ । तथ्यांकअनुसार ‘छक्कापञ्जा १’ को कुल कमाइ १६ करोड १० लाख २२ हजार ३ सय ५० रुपैयाँ थियो भने ‘महाजात्रा’ ले १५ करोड ६७ लाख ९९ हजार ६ सय १४ रुपैयाँ ग्रस कमाइ गरेको थियो, जसलाई ‘परान’ ले पछि पारेको छ ।
अहिले ‘परान’ भन्दा अगाडि सर्वाधिक कमाउने फिल्मको सूचीमा ‘पूर्णबहादुरको सारंगी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा ४’ र ‘जारी’ मात्र रहेका छन् । निरन्तरको उत्साहजनक व्यापारले फिल्मलाई घरेलु बक्सअफिसको ‘अल टाइम ब्लकबस्टर’ सूचीमा दरिलो उपस्थितिसहित उभ्याएको छ ।


