केशरमहलमा कारको ठक्करबाट एक जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।

मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए ।

मृतकलाई भने बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । ट्राफिकलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्