कुलमान लक्षित शंकरको टिप्पणी : लोडसेडिङ अन्त्यको जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले
सहयात्रा टिभी
काठमाडौं । मंसिर १८, नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकबाट लोडसेडिङ अन्त्य गर्ने मुख्य योजनाकारले जस नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले लोडसेडिङ हटाउने योजना एउटाले बनाए पनि जस अर्कैले लिएको र सोही विषयलाई भजाएर तेस्रो पक्षले पार्टी समेत खोलेको टिप्पणी गरेका हुन् ।

उनको यो अभिव्यक्ति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेको भन्ने विषयप्रति लक्षित छ । पोखरेलले सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’ उनले लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चले पनि यसको वास्तविक योजनाकार ओझेलमा परेको संकेत गरेका छन् ।
महासचिव पोखरेलले नेपाललाई लोडसेडिङमुक्त बनाउने वास्तविक योजना र भिजन एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी निरन्तर गर्दै आएका छन् । यसअघि गत मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै पनि उनले यस्तै दाबी पेस गरेका थिए । सो सभामा पोखरेलले केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मुलुकमा १८ घण्टासम्मको लोडसेडिङ रहेको स्मरण गराउँदै एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्ने ठोस कार्ययोजना ओलीकै नेतृत्वमा तयार भएको जिकिर गरेका थिए । उनले योजना बनाउने नेतृत्वलाई श्रेय नदिई अन्य पक्षले त्यसको राजनीतिक लाभ लिन खोजेको आरोप लगाएका छन् ।


