एमाले महाधिवेशनको उद्घाटनमा ५० हजार युवा उतार्ने युवा संघको घोषणा
सहयात्रा टिभी
काठमाडौं । मंसिर २१, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य र व्यापक बनाउन पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले तयारी तीव्र पारेको छ। संघले आगामी मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा कम्तीमा ५० हजार युवाहरूलाई काठमाडौँमा उतार्ने घोषणा गरेको हो। महाधिवेशन स्थलमा युवाहरूको उल्लेख्य उपस्थिति सुनिश्चित गर्न संघले वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरूलाई अनिवार्य सहभागिताका लागि उत्प्रेरकका रूपमा परिचालन गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार संघले काठमाडौँ उपत्यका र बागमती प्रदेशलाई केन्द्रित गरेर ठूलो सङ्ख्यामा जनशक्ति जुटाउने योजना बनाएको छ। तयारी अनुसार काठमाडौँ र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार र उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १ हजार ५०० का दरले १५ हजार युवा जुटाउने लक्ष्य राखिएको छ। यसैगरी, कोशी र मधेश प्रदेशबाट ४–४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५–५ सय गरी १ हजार युवा सहभागी गराउने संघको तयारी छ।
अध्यक्ष थेबेले संगठनका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउँदै ‘टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्ने’ दाबी गरेका छन्। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ भने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने तय भएको छ।


