एनपीएलको लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ३:३० बजे सुरु हुने उक्त खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

प्रतियोगितामा खराब प्रदर्शन गरेका यी दुवै टोली प्लेअफको दौडबाट बाहिरिसकेका छन्। अहिलेसम्म खेलेका ६ खेलबाट समान दुई–दुई अङ्क मात्र जोडेका कारण आजको खेल दुवै टोलीका लागि प्रतिष्ठा जोगाउने अवसर मात्र हुनेछ। कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् भने जनकपुर बोल्ट्सका मार्की प्लेयर आशिफ शेख हुन्। लगातारको असफलता ब्यहोरेको जनकपुरले यस सिजनका अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ।

यसैबीच, प्रतियोगिताको प्लेअफ समीकरण पूरा भइसकेको छ। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा आफ्नो स्थान सुरक्षित गरेका छन्। जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी यस प्रतियोगितामा लिग, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) को व्यवस्थापनमा मङ्सिर १ देखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ। क्यानले त्रिवि मैदानमा हुने हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। टिकटको मूल्य खेलको चरण र दिन अनुसार फरक तोकिएको छ। लिग चरणका सामान्य दिनमा साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपियाँ तथा शनिबारका खेलका लागि साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ पन्ध्र सय रुपियाँ कायम गरिएको छ। अब हुने प्लेअफपछिका खेलहरू हेर्नका लागि भने दर्शकले जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ तिर्नुपर्नेछ।

प्रकाशित : 7 December, 2025

प्रतिक्रिया दिनुहोस्