हेटौंडाका सडक विस्तार प्रभावितलाई आवास सहजीकरण गर्ने
सहयात्रा टिभी
काठमाडौं । मंसिर २१, हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।

उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानबाट पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाको केन्द्ररेखादेखि २५/२५ गज (७५र७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचनाहरु भत्काएको छ । कार्यालयले करिब ५०० घरटहरा तथा संरचनाको सटर, झ्यालढोका तथा भवनका भित्ता क्षतविक्षत बनाएको छ ।
मुख्य बजार क्षेत्रका घरटहरा र संरचनाहरु भग्नावशेष बनेपछि उपमहानगरपालिकाले कार्यपालिका बैठकमार्फत विशेष निर्णयहरु गरेको १ नम्बर वडाका वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने भएको छ ।
प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने गरी नमूना र सौन्दर्यता कायम गर्न उपयुक्त घर निर्माण मोडल तयार गरी कार्यान्वयन समेत गरिने प्रवक्ता न्यौपानेले बताएका छन् ।


