बेनी–जोमसोम–कोरला सडकमा १३ पुल निर्माण सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् ।

मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।

भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गएको वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।

आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को रुप्सेखोला, थासाङ गाउँपालिका–४ को खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो ।

पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायतका कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले अहिलेसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ ।

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।

 

प्रकाशित : 7 December, 2025

प्रतिक्रिया दिनुहोस्