भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार रहेको प्रधानमन्त्री कार्कीको दाबि
सहयात्रा टिभी
काठमाडौं । मंसिर २३ , प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।
‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ,’ उनले भनिन् ।
त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको उनले बताइन् । उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन् ।


