एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५ , नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान बस्दैछ। प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका विषयमा बिहान ८ बजे बस्ने बैठकमा छलफल हुने बताए।

‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढीभन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइने छ।’ मूल समितिको संयोजक महासचिव शंकर पोखरेल छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन्।

आज १४ वटै समितिका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन्। सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन्। बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ।

एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए। उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २५७१ हुनेछ। महाधिवेशन प्रतिनिधिहरुको कार्ड निर्माण कार्य अन्तिम अवस्थामा पुगेको र अनलाइनमा व्यवस्थित गरिएको उनको भनाई छ।

प्रकाशित : 11 December, 2025

प्रतिक्रिया दिनुहोस्