जर्मनीमा प्रशिक्षार्थी कामदारलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी
सहयात्रा टिभी
काठमाडौं । मंसिर २५ , जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएर मात्रै पठाउने तयारी गरेको हो ।
हाल सिपमूलक प्रशिक्षणसँगै प्रशिक्षार्थीरव्यवसायिक काममा जाने नेपाली विद्यार्थीहरूको भिसामा समस्या हुने गरेको छ ।
शिक्षा मन्त्रालयले श्रमिकलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन आनाकानी गर्दै आएको छ । श्रम मन्त्रालयले समेत विद्यार्थी भएकालाई श्रम स्वीकृति दिएर पठाउन सकिरहेको छैन, जसले गर्दा दुई वर्ष नेपालमा जर्मन भाषा पढेर अध्ययन तथा कामको लागि जाने नेपालीहरू समस्यामा पर्दै आएका छन् ।
नेपालबाट भाषा पढेर हरेक वर्ष ५ सयको हाराहारीमा नेपाली विद्यार्थी जर्मनी जाने गरेका छन् । उनीहरूलाई शिक्षा मन्त्रालयले श्रमिक भनेर एनओसी दिन अस्वीकार गर्दै आएको छ, भने श्रम मन्त्रालय विद्यार्थी भनेर श्रम स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।
जर्मनीको भिसा प्राप्त गरी कामका लागि जाने क्रममा नेपालको अध्यागमनले एनओसी माग्ने गरेको छ । यस प्रकारको काममा जर्मन कानुन अनुसार वर्किङ भिसा नै पाउने नेपालस्थित जर्मन राजदूतावासले जनाएको थियो ।
अब भने नेपाली कामदारको सुरक्षा, सुविधा र कल्याणलाई ध्यान दिई नीतिगत निर्णयगरी श्रम स्वीकृति प्रदान गरेर मात्रै पठाउने मन्त्रालयको तयारी छ ।
श्रम मन्त्रालयले २०८२ साउन ४ गते सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृतिको लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाउनेगरी परराष्ट्र, कानुन र शिक्षा मन्त्रालयसँग रायरसुझाव माग गरेको थियो । तर, शिक्षा मन्त्रालयले हालसम्म त्यस विषयमा राय सुझाव नदिएको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले श्रम स्वीकृति दिएर पठाउने विषयमा शिक्षा मन्त्रालयसँग राय सुझाव माग गरिएको र हालसम्म प्राप्त नभएको बताए ।
जर्मनीले हरेक वर्ष भाषा परीक्षामार्फत ५ सय जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने गरेको छ । विभिन्न ५ तहमा जर्मन भाषा पढेर परीक्षा दिनुपर्ने हुन्छ । त्यसका लागि ए–१ बिगिनर, ए–२ इलेमेन्टरी, बी–१ इन्टरमिडिएट, बी–२ अप्पर इन्टरमिडिएट, सी–१ एडभान्स गरेर ५ तहको भाषा पढ्नुपर्ने हुन्छ ।


