वैशाखमा चुनाव भए पनि स्वीकार्नुपर्ने विश्वप्रकाश शर्माको धारणा
सहयात्रा टिभी
काठमाडौं । मंसिर २६ , नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी समूहलाई निर्वाचन प्रक्रियामा अपनत्व महसुस गराउन तथा हिमाली जिल्लाहरूमा सहज वातावरण निर्माण गर्नका लागि निर्वाचनको मिति वैशाखमा धकेलिए पनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।

फागुन २१ गतेका लागि तय भएको चुनावी मितिप्रति आफूहरूको प्रतिबद्धता कायमै रहे पनि बदलिँदो परिस्थितिमा विश्वसनीय चुनावी वातावरण बनाउन मितिका विषयमा लचक हुनुपर्ने उनको भनाइ छ। शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले मितिभन्दा पनि मूल प्रश्न समस्याको समाधान र संविधानको कार्यान्वयन भएको उल्लेख गरेका छन्। सहमति र सहकार्यमार्फत आगामी राजनीतिक यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व भएको उनले प्रस्ट पारेका छन्।
महामन्त्री शर्माले बुधबार सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको १० बुँदे सम्झौताको स्वागत गरेका छन्। यद्यपि, राजनीतिक दलहरू लोकतन्त्रका मुख्य र अविच्छिन्न सारथि भएको तथ्यलाई हेक्का राख्दै सरकारले उक्त सम्झौतामा दलहरूलाई पनि सामेल गराएको भए त्यो भविष्यका लागि थप भरपर्दो हुने उनको टिप्पणी छ। जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोटलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
सम्झौताको कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने भन्दै शर्माले भदौ २३ गते भएको बल प्रयोग र २४ गते भएको भौतिक क्षतिको घटनामा बिनामोलाहिजा गहिरो छानबिन र कारबाही हुनुपर्ने माग गरेका छन्। सरकार र जेनजीबीचको सम्झौता कार्यान्वयनका लागि आवश्यक समय लिँदा फागुन २१ को मिति बाधक बन्न नहुने र आवश्यक परे वैशाखसम्मको समय लिन सकिने संकेत उनले गरेका छन्।


