कृष्णगोपाल श्रेष्ठले गरे ओलीको साथ छाडेको घोषणा
सहयात्रा टिभी
काठमाडौं । मंसिर २९, नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उनले आफ्नो उम्मेदवारी दर्ता गराइरहेको टेलिफोन सम्पर्कका क्रममा उनले जानकारी गराए ।
‘समयकाल परिस्थित अनुसार पार्टीको अहिलेको सन्दर्भमा आवश्यकता अनुसार मैले आफूलाई धेरै ठूलो पनि भनिनँ, सचिवमा चाहीँ जानुपर्छ भन्ने मेरो माग थियो,’ श्रेष्ठले भने, ‘मलाई उपाध्यक्षमा पनि प्रस्ताव आएको थियो । म उपाध्यक्षमा चाहीँ तयार भइनँ । सचिवमा आफूलाई अहिलेलाई यो पालि उपयुक्त छ भनेर अघि सारेँ । सचिवको नोमिनेशनका लागि नाम दर्ताका लागि लाइनमा बसिरहेको छु ।’
उनले आफू पार्टीको चौथो महाधिवेशनदेखि निरन्तर लागिरहेको भन्दै त्यतिबेला पनि सचिवमा उठ्छु भन्दा नाम काटिएको गुनासो समेत गरे ।
मदन भण्डारीको विचार अघि बढेको पार्टीमा विद्या भण्डारी समेत नअटेको भन्दै उनले गुनासो गरे ।
‘त्यो ठाउँमा पुर्याउनका लागि भूमिका खेल्नेहरूले यसबारे बुझ्दा हुन्छ । म भन्दा धेरै नजिक त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो,’ उनले भने, ‘मदन भण्डारीको विचारले विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र क्रुरता के हुन्छ रु उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । उहाँको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’
अहिले कुनै पनि व्यक्तिलाई भगवान मान्ने कुरा नभएको उनको भनाइ थियो ।


