आईपीएल र पीएसएल क्रिकेट एकैदिन शुरू हुने

सहयात्रा टिभी

आउँदो संस्करणको ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) र ‘पाकिस्तान सुपर लिग’ (पीएसएल) टी–२० क्रिकेट एकैदिन शुरू हुने भएको छ ।

१९औं संस्करणको आईपीएल आउँदो वर्षको मार्च २६ देखि मे ३१ सम्म आयोजना हुनेछ । यद्यपि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पूर्ण तालिका घोषणा गरेको छैन, आईपीएलको १९औं संस्करण टी–२० विश्वकप समाप्त भएको झन्डै तीन हप्तापछि शुरू हुनेछ ।

यस्तै ११औं संस्करणको पीएसएल आउँदो मार्च २६ देखि मे ३ सम्म आयोजना हुने पाकिस्तान क्रिकेट बोर्ड (पीएसबी) ले जनाएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा लामो पीएसएल संस्करण हुनेछ जुन ३९ दिनसम्म चल्नेछ । पहिले लिग सामान्यतया ३० देखि ३५ दिनभित्र सम्पन्न हुन्थ्यो तर यस पटक क्यालेन्डरमा झन्डै एक हप्ता थपिएको छ ।

त्यसअघि आउँदो जनवरी ८ मा इस्लामाबादमा हुने अक्शनमार्फत दुई नयाँ फ्रेन्चाइजी टोली लिगमा थपिनेछन्, त्यसपछि पीएसएल आठ टोलीको प्रतियोगिता बन्नेछ ।

लगातार दोस्रो वर्ष आईपीएल र पीएसएल प्रतियोगिता जुध्ने भएको हो । सन् २०२५ मा आईपीएल शुरू भएको २० दिनपछि अप्रिल १२ पीएसएल शुरू भएको थियो ।

 

प्रकाशित : 16 December, 2025

प्रतिक्रिया दिनुहोस्