निर्वाचन आचारसंहितामा कडाई : र्यालीमा १० वटा मात्र झन्डा प्रयोग गर्न पाउने
सहयात्रा टिभी
काठमाडौं । पुस २, निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले प्रस्तावित आचारसंहितामा प्रचारप्रसार शैलीमाथि कडा नियन्त्रण गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले तयार पारेको नयाँ मस्यौदामा राजनीतिक दल तथा उम्मेदवारले चुनाव प्रचारका क्रममा गर्ने तडकभडक र अनियन्त्रित खर्च रोक्न झन्डा, ब्यानर र र्यालीको आकारमा व्यापक कटौती गर्ने नीति लिएको छ ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार अब राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न पाइने छैन । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग भई दुरुपयोग नहोस् भन्ने मनसायले आयोगले यस्तो संख्या तोकेको हो । साथै, उम्मेदवार वा दलको कार्यालयमा तीन बाई चार फिटको कपडाको झण्डा र सोही नापको चुनाव चिन्ह भएको साइनबोर्ड बाहेक प्रचारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गर्ने प्रस्ताव गरिएको छ ।
घरदैलो तथा प्रचार अभियानलाई व्यवस्थित बनाउन आयोगले उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाको मात्र जुलुस जान पाउने नियम प्रस्ताव गरेको छ । यस्ता कार्यक्रममा बाजागाजा र झाँकी प्रदर्शन गर्न पाइने छैन भने १० वटा झण्डा र एउटा मात्र तुल वा फ्लेक्स प्रयोग गर्न दिइनेछ । सडक र सार्वजनिक स्थललाई कुरुप हुन नदिन भित्तेलेखन गर्न, दलको झन्डा वा चुनाव चिन्हको तोरण बनाई टाँग्न तथा चारपाङ्ग्रे गाडीदेखि साइकल, रिक्सा र ठेलागाडासम्मका कुनै पनि सवारी साधन प्रयोग गरी र्याली निकाल्न नपाइने गरी आचारसंहिता प्रस्ताव गरिएको छ ।
आधुनिक सञ्चार माध्यमको प्रयोगमा समेत आयोगले कडाइ गरेको छ । अनलाइन, वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, बैंकका एटिएम काउन्टर तथा कल सेन्टरमार्फत उम्मेदवारको प्रचार गर्न पाइने छैन । यद्यपि, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा निजी र आधिकारिक वेबपेजमा भने प्रचार सामग्री राख्न छुट पाउनेछन् । निर्वाचनलाई भड्किलो हुन नदिन र मर्यादित बनाउन आयोगले यी नयाँ व्यवस्थाहरू प्रस्ताव गरेको हो ।


