एमाले पदाधिकारीमा ओली पक्षको वर्चस्व, १९ मध्ये १७ पदमा संस्थापन विजयी
सहयात्रा टिभी
काठमाडौं । पुस ३, नेकपा एमालेको भर्खरै सार्वजनिक चुनावी मतपरिणाम अनुसार पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली पक्षको पूर्ण बर्चस्व कायम भएको छ। प्यानलगत रूपमा भएको प्रतिस्पर्धामा १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना संस्थापन पक्ष अर्थात् ओली पक्षबाट निर्वाचित भएका छन्।

अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका छन्। अध्यक्षका प्रत्यासी पोखरेलले अपेक्षा गरेअनुरूप मत प्राप्त गर्न सकेनन्। यस्तै, महासचिव पदमा कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतको अन्तरले विजयी भएका छन्।
संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवारी दिएकामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जित निकाल्न सफल भए। यी दुईबाहेक अन्य सबै पदाधिकारीमा ओली पक्षका उम्मेदवारहरूले बाजी मारेका छन्।
निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई चुनिएका छन्। सचिव पदमा भने महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन्।


