प्रतिबन्धबाट बच्न टिकटकको मालिकले गरे अमेरिकी लगानीकर्तासँग सम्झौतामा हस्ताक्षर
सहयात्रा टिभी
काठमाडौं । पुस ४, टिकटकको चिनियाँ स्वामित्व रहेको कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी व्यवसायको अधिकांश हिस्सा अमेरिकी र विश्वव्यापी लगानीकर्ताहरूलाई बिक्री गर्न बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको छ। टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शो जी च्युले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा सो जानकारी दिएका हुन्।

सिइओ च्युका अनुसार यस संयुक्त उद्यमको आधा हिस्सा ओरेकल, सिल्भर लेक र इमिराती लगानी संस्था एमजीएक्स लगायतका लगानीकर्ताहरूको समूहको स्वामित्वमा हुनेछ।
जनवरी २२ मा सम्पन्न हुने भनिएको यो सम्झौताले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइटडान्सलाई अमेरिकी सञ्चालन बिक्री गर्न वा प्रतिबन्ध भोग्न वाशिङ्टनले वर्षौंदेखि दिँदै आएको दबाबलाई अन्त्य गर्नेछ।
यो सम्झौता गत सेप्टेम्बरमा सार्वजनिक गरिएको योजना अनुरुप नै छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप बिक्री नभए प्रतिबन्ध लगाउने कानुनको कार्यान्वयनलाई रोकेका थिए।
टिकटकले मेमोमा उल्लेख गरे अनुसार यो सम्झौताले “१७ करोडभन्दा बढी अमेरिकीहरूलाई एक महत्वपूर्ण विश्वव्यापी समुदायको हिस्साका रूपमा अनन्त सम्भावनाहरूको विश्व खोजिरहन सक्षम बनाउनेछ।”
कसको कति हिस्सा ?
सम्झौता अनुसार बाइटडान्सले व्यवसायको १९.९ प्रतिशत हिस्सा आफूसँगै राख्नेछ। उता ओरेकल, सिल्भर लेक र अबु धाबीस्थित एमजीएक्सले १५-१५ प्रतिशत हिस्सा ओगट्नेछन्। बाँकी ३०.१ प्रतिशत हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्ताका सहयोगी संस्थाहरूमा रहने मेमोमा उल्लेख छ।
ह्वाइट हाउसले यसअघि नै ट्रम्प समर्थक ल्यारी एलिसनद्वारा सह-स्थापित ओरेकलले सम्झौताको एक भागको रूपमा टिकटकको ‘रेकमेन्डेसन एल्गोरिदम’ को लाइसेन्स लिने बताएको थियो।
राजनीतिक घटनाक्रम र ढिलाइ
यो सम्झौता लामो समयको रस्साकस्सी र ढिलाइपछि भएको हो। जो बाइडेन प्रशासनको समयमा सन् २०२४ को अप्रिलमा अमेरिकी कांग्रेसले राष्ट्रिय सुरक्षाको चिन्ता देखाउँदै एप बिक्री नभए प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो।
उक्त कानुन २० जनवरी २०२५ देखि लागू हुने तय भएको थियो तर ट्रम्पले स्वामित्व हस्तान्तरणको सम्झौताका लागि काम भइरहँदा यसलाई पटकपटक पछाडि धकेलेका थिए। ट्रम्पले सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा कुरा गरेको र उनले सम्झौताका लागि अनुमति दिएको बताएका थिए। अक्टोबरमा दुई नेताबीच प्रत्यक्ष भेटवार्ता हुँदा पनि प्लेटफर्मको भविष्य अनिश्चित नै देखिएको थियो।
यस विषयमा प्रतिक्रिया माग्दा ह्वाइट हाउसले टिकटकसँगै सम्पर्क गर्न भनेको बीबीसीले उल्लेख गरेको छ भने ओरेकल र सिल्भर लेकले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
आलोचना र प्रयोगकर्ताको प्रतिक्रिया
यो सम्झौताको ओरेगनका डेमोक्य्राट सिनेटर रोन वाइडेनले आलोचना गरेका छन्। उनले यो सम्झौताले “अमेरिकी प्रयोगकर्ताको गोपनीयता रक्षा गर्न केही नगर्ने” बताए। सर्तहरू अनुसार, बाह्य हेरफेरबाट मुक्त राख्न टिकटकको एल्गोरिदमलाई अमेरिकी प्रयोगकर्ताको डेटामा पुनः प्रशिक्षित गरिनेछ। तर सिनेटर वाइडेनले भने, “टिकटकको एल्गोरिदम सुरक्षित हातमा पुग्छ भन्ने नै स्पष्ट छैन।”
केही प्रयोगकर्ताहरूले पनि नयाँ लगानीकर्ताहरूको आगमनप्रति सावधानी व्यक्त गरेका छन्। साना व्यवसायी टिफनी सियन्सी, जसका टिकटकमा ३ लाखभन्दा बढी फलोअर्स छन्, उनले नयाँ लगानीकर्ताहरूले उनीजस्ता उद्यमीहरूका लागि उही प्रयोगकर्ता अनुभव कायम राख्ने आशा व्यक्त गरिन्।
“मलाई आशा छ साना व्यवसायीहरू सुरक्षित हुनेछन्,” सियन्सीले भनिन्। टिकटकका अनुसार अमेरिकामा ७० लाखभन्दा बढी साना व्यवसायहरूले आफ्ना उत्पादन र सेवाहरूको बजारीकरण गर्न यसको प्रयोग गर्छन्। सियन्सीले मेटा (फेसबुक/इन्स्टाग्राम) जस्ता प्रतिस्पर्धीहरू भन्दा टिकटकले नाफा बाँडफाँडमा राम्रो सर्तहरू दिने भएकाले आफूले यो प्लेटफर्म रोजेको बताइन्।


