जापानको आणविक हतियार मोहप्रति रुसको कडा आपत्ति
सहयात्रा टिभी
काठमाडौं । पुस ६, जापानभित्र आणविक हतियार प्राप्त गर्ने विषयमा सुरु भएको बहसप्रति रुसले गम्भीर आपत्ति जनाएको छ । रुसी उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानमा भइरहेको यस्तो छलफल र संवैधानिक प्रावधानमा गर्न खोजिएको सम्भावित परिवर्तनप्रति मस्को जानकार रहेको बताउँदै यसको कडा शब्दमा विरोध गरेका हुन् ।

तास समाचार एजेन्सीसँगको कुराकानीमा उपविदेशमन्त्री रुडेन्कोले जापानको सैन्यीकरणले समग्र उत्तरपूर्वी एसियाको भू–राजनीतिक अवस्थालाई थप खराब बनाउने जिकिर गरे । जापानले आणविक हतियारको बाटो रोजेमा त्यसबाट सुरक्षा खतरा महसुस गर्ने अन्य राष्ट्रहरूले पनि बाध्य भएर जवाफी कदम चाल्ने चेतावनी उनले दिएका छन् । रुसले जापानको यो कदमलाई स्पष्ट रूपमा आलोचना गर्दै यसले क्षेत्रीय अस्थिरता निम्त्याउने निष्कर्ष निकालेको छ ।
केही दिनअघि मात्र जापानी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जापानसँग पनि आणविक हतियार हुनुपर्ने अभिव्यक्ति दिएपछि यो विषय सतहमा आएको हो । जापानको संविधानले अवलम्बन गरेको गैर–आणविक सिद्धान्तविपरीत उच्च अधिकारीबाटै यस्तो विवादास्पद धारणा सार्वजनिक भएपछि रुसले आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो ।


