अमेरिकाले फेरि कब्जा गर्‍यो भेनेजुएलाको तेल ट्यांकर, दुई देशबीचको तनाव उत्कर्षमा

सहयात्रा टिभी

काठमाडौं । पुस ६, अमेरिकी तट रक्षक बल (युएस कोस्टगार्ड) ले भेनेजुएलाको तट नजिकैबाट तेल बोकेको अर्को एक जहाज नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति र कडा प्रतिबन्धका बीच भएको यो कारबाहीले अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तथा व्यापारिक तनावलाई थप चर्काएको छ ।

युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ‘सेन्चुरीज’ लेखिएको उक्त तेल ट्यांकर कब्जामा लिएको पुष्टि गरेको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा सात मिनेट लामो भिडियो सार्वजनिक गर्दै डिसेम्बर २० को बिहान उक्त अपरेसन गरिएको जानकारी दिएकी हुन् । डिपार्टमेन्ट अफ वारको सहयोगमा भेनेजुएलाबाट छुटेको जहाजमा अमेरिकी हेलिकप्टर अवतरण गरी नियन्त्रणमा लिइएको दृश्य भिडियोमा देख्न सकिन्छ ।

अमेरिकाले भेनेजुएलाको तेल व्यापारबाट प्राप्त आम्दानी लागुऔषध ओसारपसार र आतंकवादी गतिविधि (नार्को टेररिज्म) मा प्रयोग भइरहेको गम्भीर आरोप लगाउँदै आएको छ । सेक्रेटरी नोएमले यस्तो गैरकानुनी कारोबारमा संलग्नहरूलाई खोज्ने र रोक्ने कडा चेतावनी दिएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल कारोबारमा नाकाबन्दी लगाउने घोषणा गरेलगत्तै अमेरिकाले तेल ट्यांकरहरूमाथिको निगरानी र कारबाहीलाई तीव्रता दिएको हो ।

यता भेनेजुएला सरकारले भने अमेरिकी आरोपको निरन्तर खण्डन गर्दै आएको छ । यसअघि पनि अमेरिकाले लागुऔषधको आशंकामा जहाजहरू रोक्दा भेनेजुएलाको तेल निर्यात नराम्ररी प्रभावित भएको छ । शक्ति राष्ट्र र तेल उत्पादक राष्ट्रबीचको यो बढ्दो टकरावले अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति प्रभावित हुने र मूल्य बढ्न सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

प्रकाशित : 21 December, 2025

प्रतिक्रिया दिनुहोस्