युक्रेनी क्षेत्र ओडेसामा रुसको आक्रमण तीव्र, बन्दरगाह र विद्युत् आपूर्ति ठप्प

सहयात्रा टिभी

काठमाडौं । पुस ८, रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा आक्रमण तीव्र पारेको छ, जसका कारण सो क्षेत्रमा व्यापक विद्युत् कटौती हुनुका साथै समुद्री पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले “व्यवस्थित” रूपमा आक्रमण गरिरहेको छ र यसको मुख्य उद्देश्य युक्रेनको समुद्री पहुँचलाई अवरुद्ध गर्नु हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै कृष्णसागरमा रुसको “स्याडो फ्लिट” (पश्चिमा प्रतिबन्ध छल्न प्रयोग हुने तेल ट्याङ्करहरू) मा भएको ड्रोन आक्रमणको बदलामा युक्रेनको समुद्री बाटो बन्द गरिदिने धम्की दिएका थिए । सोही अनुरुप पछिल्लो समय ओडेसाका बन्दरगाहहरूलाई निशाना बनाइएको छ ।

सोमबार साँझ बन्दरगाहका पूर्वाधारमा गरिएको आक्रमणले एउटा नागरिक जहाजमा क्षति पुगेको छ । त्यसअघि आइतबार राति भएको आक्रमणले करिब १ लाख २० हजार मानिसलाई अन्धकारमा राखेको छ भने बन्दरगाहमा आगलागी हुँदा ठूलो मात्रामा पिठो र खाने तेल नष्ट भएको छ । गत साता ओडेसाको विभ्दन्नी बन्दरगाहमा भएको ब्यालेस्टिक मिसाइल आक्रमणमा ८ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए । आक्रमणका कारण मोल्डोभा जोड्ने एक मात्र पुल र यातायात समेत प्रभावित भएको छ ।

ओडेसा युक्रेनको अर्थतन्त्रका लागि, विशेषगरी गहुँ र मकै निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण नाका हो । रुसी आक्रमण रोक्न नसकेको भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रका वायुसेना कमान्डरलाई पदमुक्त गरेका छन् र छिट्टै नयाँ कमान्डर नियुक्त गरिने बताएका छन् ।

यसैबीच, अमेरिकाको मियामीमा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू भए पनि ठोस प्रगति हुन सकेको छैन । अमेरिकी र युक्रेनी प्रतिनिधिहरूबीच युक्रेनले अघि सारेको २० बुँदे शान्ति योजनामा छलफल भएको छ । तर, रुसी अधिकारीहरूले युरोपेली र युक्रेनी प्रस्तावले शान्तिको सम्भावना नबढाउने प्रतिक्रिया दिएका छन् । रुसले युरोपेली देशहरूमाथि रुस-अमेरिका सम्बन्ध सुधार्न नचाहेको आरोप लगाएको छ । साथै, रुसले युरोप वा नेटोमा आक्रमण गर्ने कुनै योजना नरहेको र आवश्यक परे यसलाई लिखित रूपमै दिन तयार रहेको पनि बताएको छ ।

प्रकाशित : 23 December, 2025

प्रतिक्रिया दिनुहोस्