फागुन २१ मा चुनाव गराउनु नै सरकारको मुख्य कार्यभार : गृहमन्त्री अर्याल
सहयात्रा टिभी
काठमाडौं । पुस ९, गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख दायित्व आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ लाई सम्बोधन गर्दै उनले सरकार तोकिएकै मितिमा निर्वाचन गराउने गृहकार्यमा होमिएको स्पष्ट पारे ।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि किसिमको द्वन्द्व हुन नदिने रणनीति सरकारले लिएको बताए । संसद् विघटन भएको छ महिनाभित्रै नयाँ जनादेश लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सुरक्षा चुनौतीलाई सामना गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने उनको भनाइ छ । उनले मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।
कार्यक्रममा गृहमन्त्री अर्यालले ‘जेनजी आन्दोलन’ र युवा पुस्ताको भूमिकाबारे पनि चर्चा गरे । आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूको पहिचान गरी राजपत्रमा नामावली प्रकाशन गरिएको जानकारी दिँदै उनले सहिद परिवारलाई राहत उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताए ।
साथै, मुलुकको समृद्धि र सुशासनका लागि जेनजी पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा उनले जोड दिए । जेनजी पुस्ता कुनै दल विशेषको नभई राष्ट्रकै साझा शक्ति भएकाले उनीहरूको सिर्जनशीलता र प्रतिभालाई देश विकासमा उपयोग गर्नुपर्ने मन्त्री अर्यालको धारणा थियो ।


