नेपालमा १० करोड कमाउने संघारमा रणवीरको ‘धुरन्धर’, ‘अवतार ३’ को कमाइ कति ?
सहयात्रा टिभी
काठमाडौं । पुस १०, रणवीर सिंह मुख्य भूमिकामा रहेको बलिउडको स्पाई थ्रिलर फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अहिलेकै रफ्तारमा व्यापार हुने हो भने यो फिल्मले नेपालमा छिट्टै १० करोड ग्रस कलेक्सनको कोसेढुङ्गा पार गर्ने निश्चित देखिएको छ । बिहीबार दिउँसोसम्मको तथ्यांक अनुसार सिनेपाः बक्सअफिसमा फिल्मले ८ करोड ५० लाख रुपैयाँ कमाइसकेको छ ।

दर्शकको बलियो ‘वर्ड अफ माउथ’ पाएको यो फिल्मले नजिकिँदै गरेको क्रिसमस र सप्ताहन्तको बिदामा अझ राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ । सन् २०२५ मा नेपालमा प्रदर्शन भएका विदेशी फिल्महरूमध्ये थोरैले मात्र १० करोडको आँकडा पार गरेका छन्, जसमा अब ‘धुरन्धर’ पनि दरिलो दाबेदारका रूपमा उभिएको छ । उता भारतमा पनि यो फिल्मले ‘स्त्री २’ लाई पछि पार्दै बुधबार दोस्रो धेरै कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाइसकेको छ ।
यसैगरी, जेम्स क्यामरुन निर्देशित चर्चित हलिउड फ्रेन्चाइज ‘अवतार : फायर एन्ड यश’ (अवतार ३) ले पनि बक्स अफिसमा आफ्नो उपस्थिति जनाइरहेको छ । बिहीबारसम्म नेपालमा ३ करोड ८४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको यो फिल्मले क्रिसमस र आउँदो सप्ताहन्तमा ४ करोडको आँकडा पार गर्नेछ । यद्यपि, सुरुवाती हाइपका बाबजुद यो फिल्मले नेपालमा ५ करोडको लाइफटाइम कलेक्सन पूरा गर्छ वा गर्दैन भन्ने विषय भने अबको व्यापारमा निर्भर हुनेछ ।


