म्यानमारमा हिंसा र त्रासका बीच विवादास्पद चुनाव सुरु, अन्तर्राष्ट्रिय समुदायद्वारा ‘ढोँग’ को संज्ञा

सहयात्रा टिभी

काठमाडौं । पुस १३ , म्यानमारमा सेनाले सत्ता कब्जा गरेको करिब पाँच वर्षपछि आइतबारदेखि विवादास्पद आम निर्वाचनको मतदान सुरु भएको छ। प्रमुख राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइएको, शीर्ष नेताहरूलाई जेलमा राखिएको र जारी गृहयुद्धका कारण देशको करिब आधा भूभागमा मतदान नै नहुने अवस्थाका बीच भइरहेको यो चुनावलाई अन्तर्राष्ट्रिय समुदाय र विपक्षीहरूले ‘कर्मकाण्डी’ र ‘ढोँग’ को संज्ञा दिएका छन्।

मतदान प्रक्रिया सुरु भएसँगै देशका विभिन्न स्थानमा हिंसात्मक घटनाहरू भएका छन्। आइतबार बिहानै मन्डाले क्षेत्रमा रकेट आक्रमण हुँदा तीन जना घाइते भएका छन् भने शनिबार राति म्यावाडीमा भएको विष्फोटमा एक बालकको मृत्यु हुनुका साथै १० भन्दा बढी घरहरूमा क्षति पुगेको छ।

चीनको समर्थन प्राप्त सैन्य सरकार (जुन्ता) ले आफ्नो सत्तालाई वैधानिकता दिन र शक्ति सुदृढ गर्न यो चुनाव गराएको विश्लेषकहरूको भनाइ छ। कडा सुरक्षा व्यवस्थाबीच राजधानीमा मतदान गरेपछि जुन्ता प्रमुख मिन आङ ह्लाइङले चुनाव स्वतन्त्र र निष्पक्ष हुने दाबी गर्दै यसले देशलाई बहुदलीय लोकतान्त्रिक प्रणालीमा फर्काउने बताएका छन्।

यद्यपि, निर्वाचनको विरोध गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने कडा कानुन बनाइएको छ। हालसम्म २०० भन्दा बढी व्यक्तिलाई यस्तो आरोपमा मुद्दा चलाइएको छ। चुनाव प्रवर्द्धन गर्ने फिल्मको आलोचना गरेको आरोपमा चर्चित निर्देशक, अभिनेता र हास्य कलाकारलाई सात वर्षको जेल सजाय सुनाइएको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले नागरिकहरू विद्रोही र सेना दुवै तर्फबाट दबाब र त्रासमा परेको बताएका छन्।

सुरक्षा चुनौतीका कारण ३३० मध्ये २७४ टाउनसिपमा मात्र आगामी एक महिनाभित्र तीन चरणमा मतदान हुनेछ। आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डेमोक्रेसी’ (NLD) लगायत ४० दललाई प्रतिबन्ध लगाइएको छ र सुकी सहितका नेताहरू जेलमा छन्। सन् २०१५ र २०२० मा भारी बहुमत ल्याएको दल नै प्रतिबन्धित भएपछि ६ वटा दलले मात्र राष्ट्रव्यापी प्रतिस्पर्धा गरिरहेका छन्।

बेलायत, युरोपेली युनियन लगायतका पश्चिमी राष्ट्रहरूले यो चुनावलाई अस्वीकार गरेका छन्। धेरैजसो सर्वसाधारणले लोकतन्त्र गुमेकोमा पीडा व्यक्त गरेका छन् भने कतिपयले डर र बाध्यताका बीच मतदान प्रक्रियामा भाग लिइरहेका छन्। चुनावको नतिजा जनवरीको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ।

प्रकाशित : 28 December, 2025

प्रतिक्रिया दिनुहोस्