रवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल, आज पनि प्रयास जारी

सहयात्रा टिभी

काठमाडौं । पुस १४ , रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको छ । नेताहरुका अनुसार सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल भने जारी रहने छ ।

‘आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै कुलमानसँग आज पनि सहमतिको प्रयास हुन्छ,’ एक नेताले भने । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग पनि कुलमान पक्षबीच एकता वार्ता भए पनि त्यसमा पनि खास प्रगति नभएको स्रोत बताउँछ ।

कुलमानलाई दिने पदमा मिलेन कुरा

रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएको थियो । तर कुलमानसँगको छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।

जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दिने भन्ने विषयमा कुरा नमिलेपछि उनीहरु छुट्टिएका थिए । कुलमानलाई मिल्नका लागि दबाब दिन केही जेनजी युवाहरु मध्यराति पनि कुलमानको घरसम्मै पुगेका थिए ।

उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले पार्टीमा सहअध्यक्ष पाउनुपर्ने वा प्रधानमन्त्री आलोपालो हुनुपर्ने आफूहरुको मागमा रवि–बालेन तयार नभएकाले सहमति नजुटेको बताए । आइतबार रवि–बालेन एकतापछि रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि सहमति नजुटेको बताएका छन् ।

आइतबार नै पोखराको जिल्ला भेलामा कुलमानले नयाँ दलहरु मिल्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कुलमान घिसिङ अलग देखिनु दु:खद छ : सुदन गुरुङ

रवि–बालेन–कुलमान एकताका लागि हामी नेपालका संस्थापक सुदन गुरुङ लगायतले दबाब दिँदै आएका थिए । आइतबार मध्यरातिसम्मको छलफलमा उनी पनि सहभागी थिए । तर सहमति नजुटेपछि उनले राति १ बजे फेसबुकमा स्टाटस लेखेर दु:ख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दु:खद छ । अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला र तर आजको समयले तपाईंहरुलाई सँगै उभिने म्याडेट दिएको छ ।’

जेनजी आन्दोलनपछिको अहिलेको गम्भिर परिस्थितिमा सबै प्रमुख शक्तिहरु एकजुट हुने अपेक्षा गरिएको उनले बताएका छन् । उनले लेखेका छन्, ‘आदरणीय प्रिय सरोकारवाला शत्तिहरुलाई विनम्र अनुरोध छ, कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुस् । देशलाई विभाजन होइन, एकता आवश्यक छ ।’ यसअघि ललितपुरमा रवि–बालेनबीच एकताको वार्ताको बेला सुदनले बाहिरबाट ताला लगाइदिएर मिल्न दबाब सिर्जना गरेका थिए ।

रवि–बालेन–कुलमान वार्ताबारे जानकार स्रोतले भन्यो, ‘हिजो मध्यरातिको वार्ता सहमतिमा पुगेन । आज बिहान १० बजेसम्म फेरि सहमतिको प्रयास गरिन्छ । किनभने १० बजेसम्म सहमति जुटेन भने निर्वाचन आयोगमा समानुपातिक क्लस्टर मिलाएर बन्दसूची पेश गर्न भ्याइँदैन । त्यसैले आज बिहानका केही घण्टा हाम्रा लागि अत्यन्त निर्णायक र महत्वपूर्ण छ ।’

प्रकाशित : 29 December, 2025

प्रतिक्रिया दिनुहोस्