बङ्गलादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

सहयात्रा टिभी

काठमाडौं । पुस १५ , लामो समयदेखि बिरामी रहेकी बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा मङ्गलबार बिहान ६ बजे उनको निधन भएको जियाको दल बङ्गलादेश नेसनलिष्ट पार्टी (बीएनपी) ले जनाएको छ ।

मिर्गौला, मुटु र निमोनियालगायतका स्वास्थ्य समस्याबाट ग्रसित जिया विगत एक महिनादेखि अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरूले सोमबार नै उनको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ रहेको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जानकारी दिएका थिए । बढ्दो उमेर र कमजोर स्वास्थ्यस्थितिका कारण उनलाई एकैपटक धेरै किसिमका उपचार विधिहरू प्रयोग गर्न सम्भव नभएको चिकित्सकहरूले बताएका थिए ।

सन् १९८१ मा सैन्य ‘कु’ मार्फत आफ्ना पति तथा पूर्वराष्ट्रपति जियाउर रहमानको हत्या भएपछि खालिदा जिया राजनीतिमा होमिएकी थिइन् । सन् १९९१ मा भएको २० वर्षपछिको पहिलो लोकतान्त्रिक निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउँदै उनी बङ्गलादेशको पहिलो महिला सरकार प्रमुख बनेकी थिइन् । उनलाई सन् १९८० को दशकमा सैन्य शासक हुसेन मोहम्मद इरसादविरुद्धको अडानका कारण ‘झुक्दै नझुक्ने नेतृ’ (अनकम्प्रोमाइजिङ लिडर) का रूपमा चिनिन्थ्यो ।

बङ्गलादेशको राजनीतिमा जिया र उनकी प्रतिद्वन्द्वी शेख हसिनाबीचको लामो र तीतो द्वन्द्वले दशकौंसम्म प्रभाव जमाएको थियो । अवामी लिगको सरकारका बेला भ्रष्टाचारको आरोपमा दोषी ठहर भई जेल परेकी जियाले ती आरोपहरू राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएकी थिइन् । गत वर्ष व्यापक जनप्रदर्शनपछि शेख हसिना देश छोड्न बाध्य भएलगत्तै जिया जेलमुक्त भएकी थिइन् ।

आगामी फेब्रुअरीमा हुने आम निर्वाचनमा जियाले प्रतिस्पर्धा गर्ने बीएनपीले जनाएको थियो, तर त्यसअघि नै उनको निधन भएको छ । उनका छोरा तारिक रहमान १७ वर्षको लन्डन बसाइपछि गत साता मात्र स्वदेश फर्किएका थिए । जियाको अन्तिम क्षणमा छोरा तारिक, बुहारी र नातिनी उनीसँगै रहेको पार्टीले जनाएको छ ।

जियाको निधनप्रति बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गहिरो दुःख व्यक्त गरेका छन् । उनले जियालाई ‘लोकतान्त्रिक आन्दोलनको प्रतीक’ र ‘राष्ट्रको महान् अभिभावक’ को संज्ञा दिँदै लोकतन्त्र र बहुदलीय राजनीतिक संस्कृतिको स्थापनामा उनको योगदान सधैं स्मरणीय रहने बताए । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेशको विकास र भारत–बङ्गलादेश सम्बन्धमा जियाको योगदानको स्मरण गरेका छन् ।

निधनको खबर फैलिएसँगै ढाकास्थित अस्पताल बाहिर उनका समर्थकहरूको ठूलो भीड लागेको छ, जसलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । बीएनपीले सत्तामा फर्कने अपेक्षा गरिरहेको अवस्थामा अब जियाका छोरा तारिक रहमानले नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : 30 December, 2025

प्रतिक्रिया दिनुहोस्