स्विट्जरल्यान्डको रिसोर्टमा आगलागी : ४७ जनाको मृत्यु, सयभन्दा बढी घाइते
सहयात्रा टिभी
काठमाडौं । पुस १८, दक्षिण स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट ‘क्रान्स-मोन्टाना’ स्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीषण आगलागी हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ११५ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे सुरु भएको उक्त आगलागीमा परी घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर छ। उद्धारका लागि १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० जना आपतकालीन टोली परिचालन गरिएको थियो।
घाइते हुनेहरूमा धेरैजसो १५ देखि २५ वर्ष उमेरका युवाहरू छन्, जसलाई स्विट्जरल्याण्डका विभिन्न अस्पतालका साथै छिमेकी देशहरूमा समेत उपचारका लागि लगिएको छ। चिकित्सकहरूका अनुसार तीव्र रूपमा फैलिएको आगो र विषाक्त धुवाँका कारण मानिसहरूको शरीरको बाहिरी र भित्री भागमा गम्भीर क्षति पुगेको छ। मृतक र घाइतेहरूमा इटाली, फ्रान्स र बेलायत लगायत विभिन्न देशका नागरिकहरू परेका छन्।

अधिकारीहरूले यो कुनै योजनाबद्ध आक्रमण नभएको स्पष्ट पारेका छन्। आगलागीको यकिन कारण अझै पत्ता नलागे पनि शैम्पेनको बोतलमा बालिएका ‘फ्लेयर’ वा बारको साँघुरो संरचनाका कारण क्षति बढी भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
स्वीस राष्ट्रपति गाय पार्मेलिनले यसलाई देशकै ठूलो त्रासदी भन्दै शोक व्यक्त गरेका छन् । बेलायती राजा चार्ल्स, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली युनियनका नेताहरूले पनि यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्। हाल प्रहरीले मृतकहरूको पहिचान गरी परिवारलाई हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकता दिएको छ।


