६ महिनापछि रसुवागढी नाका पुनः सञ्चालन : एकैदिन २७ कन्टेनर भित्रिए
सहयात्रा टिभी
काठमाडौं । पुस १८, चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी झन्डै ६ महिनाको अवरोधपछि पुनः सञ्चालनमा आएको छ । गत २४ असारमा आएको बाढीले चीन र नेपाल जोड्ने ल्हेन्देखोलाको पुल बगाएपछि ठप्प बनेको यो नाका चीनले अस्थायी बेलिब्रिज निर्माण गरिदिएसँगै बिहीबारदेखि खुला भएको हो । नाका सञ्चालनमा आएसँगै लामो समयदेखि सुनसान रहेको भन्सार कार्यालय र सीमा क्षेत्रमा पुनः व्यावसायिक चहलपहल सुरु भएको छ ।

नाका खुलेको पहिलो दिन नै सामान बोकेका २७ वटा चिनियाँ कन्टेनर नेपाल भित्रिएका छन् भने सामान लिनका लागि २८ वटा खाली कन्टेनर नेपालबाट चीनतर्फ प्रस्थान गरेका छन् । रसुवा भन्सार कार्यालयका अनुसार पहिलो चरणमा स्याउ, ओखर र लत्ताकपडा जस्ता तयारी वस्तुहरू आयात भएका छन् । यसका साथै नेपाली सेनाले विकास निर्माणका कार्य जस्तै सुरुङ, सडक र जलविद्युत् आयोजनामा प्रयोग गर्ने विस्फोटक पदार्थ पनि यही नाका हुँदै नेपाल आइपुगेको छ ।
लामो समयसम्म नाका बन्द हुँदा देशको अर्थतन्त्र र स्थानीयको रोजीरोटीमा गम्भीर असर परेको देखिन्छ । भन्सार कार्यालयका अनुसार नाका बन्द भएको अवधिमा करिब २१ अर्ब रुपैयाँ बराबरको राजस्व गुमेको छ । यसले गर्दा चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसमेत प्रभावित भएको छ । दसैँ जस्तो ठुलो चाडपर्वका बेला नाका बन्द हुँदा व्यवसायीहरूले विद्युतीय गाडी, फलफूल र कपडाहरू आयात गर्न नपाउँदा बजारमा मागअनुसारको आपूर्ति हुन सकेको थिएन । यद्यपि, केही सामानहरू तातोपानी र कोरला नाकाबाट भित्रिए पनि रसुवागढीको अभाव भने खड्किरहेको थियो ।
अहिले सञ्चालनमा ल्याइएको अस्थायी पुलका कारण ठुला र अग्ला सामान ढुवानीमा भने केही चुनौती देखिएको छ । विशेषगरी साढे ७ मिटरभन्दा बढी उचाइ भएका जलविद्युत् आयोजनाका उपकरणहरू यो पुलबाट पार गराउन कठिन हुने भन्सार प्रशासनको बुझाइ छ । विगतमा दैनिक सयको हाराहारीमा कन्टेनरहरू ओहोरदोहोर गर्ने यो नाकामा अब विस्तारै सवारीको चाप बढ्ने र विशेषगरी विद्युतीय सवारीसाधनको आयातले गति लिने अपेक्षा गरिएको छ ।
हाल नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्ने कार्य चीन सरकारको अनुदानमा अघि बढाइँदै छ । बाढीपछि सडकको अवस्था निकै नाजुक रहेकाले कतिपय ठाउँमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।
आगामी फेब्रुअरीदेखि चीनले सडक निर्माणको कामलाई तीव्रता दिने भएपछि भविष्यमा ढुवानी सहज हुने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले विश्वास व्यक्त गरे । नाका खुलेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ भने रसुवा भन्सारको क्षतिग्रस्त यार्डलाई समेत सरसफाइ गरी दुई सय गाडी अट्ने गरी तयारी अवस्थामा राखिएको छ ।


