गुल्मीमा बसको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते
सहयात्रा टिभी
काठमाडौं । पुस १८, गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मालिका गाउँपालिका–६ निवासी ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू नाता पर्ने करिब ५५–५६ वर्षीया मनकला अर्याल रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरू बोकेर पिकनिकका लागि जाँदै गरेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षीया बालक अनुभव गिरी र बसमा सवार ४१ वर्षीया शिक्षिका लिलावती अर्याल घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको र हाल गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनापछि बस चालक धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।


