आशिफ शाहले फिर्ता लिए समानुपातिक उम्मेदवारी, काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा
सहयात्रा टिभी
काठमाडौं । पुस १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा परेका आशिफ साहले आफ्नो नाम फिर्ता लिएका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले जनताको भावना र पार्टीभित्रको मनोविज्ञानलाई सम्मान गर्दै समानुपातिक उम्मेदवारी त्याग्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

आफू सक्रिय राजनीतिमा नरहे पनि देश निर्माणको अभियानमा सधैँ चासो राख्दै आएको उल्लेख गर्दै साहले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् । त्यही भूमिका र साथीभाइको आग्रहका कारण आफ्नो नाम समानुपातिक सूचीमा समावेश गरिएको उनले स्पष्ट पारेका छन् ।
यद्यपि, उम्मेदवारी दर्तापछि प्राप्त जनप्रतिक्रिया र समाचारहरूले आफूलाई सोच्न बाध्य बनाएको साहको भनाइ छ । उनले भनेका छन्, ‘नियत सही हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो ।’
समानुपातिक प्रणालीमार्फत सांसद बन्ने बाटो रोज्नु भन्दा प्रत्यक्ष निर्वाचित भएर आउनु उपयुक्त हुने निष्कर्षमा पुग्दै उनले अब काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले जुनसुकै भूमिकामा रहेर पनि देशका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै समानुपातिक सूचीमा रहेका अन्य नेताहरूलाई समेत जनताको भावनाको कदर गर्दै पछि हट्न आग्रह गरेका छन् ।
साहले अब आफू प्रत्यक्ष निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको र जनताको बीचमा उभिएरै आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताएका छन् ।


