वीरगञ्जमा तनाव बढेपछि मधेशभर बढाइयो सुरक्षा सतर्कता

सहयात्रा टिभी

काठमाडौं । पुस २०, टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ ।

धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको बताए ।

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए ।

धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरु आक्रोशमा आए ।

त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बम बताउँछन् ।

 

सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

 

प्रकाशित : 4 January, 2026

प्रतिक्रिया दिनुहोस्