वैदेशिक रोजगारी ठगी मुद्दामा अनुसन्धान गर्न विशेष कार्यदल गठन
सहयात्रा टिभी
काठमाडौं । पुस २०, सरकारले वैदेशिक रोजगारी ठगीमा मुद्दा अनुसन्धान गर्न ‘विशेष कार्यदल’ गठन प्रक्रिया अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष कार्यदल गठन प्रक्रिया अगाडि बढाएको हो । कार्यदलमा वैदेशिक रोजगार विभाग, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय अन्तर्गतको सुरक्षा निकाय लगायतका अधिकारी रहनेछन् ।
विभागमा हाल ३५ हजारभन्दा बढी ठगी मुद्दा अनुुन्धान क्रममा छन् । हरेक दिन सयौँ संख्यामा नयाँ उजुरी थपिँदै आएका छन् । हरेक वर्ष ५ हजारभन्दा बढी उजुरी आउने गरेका छन् भने यसअघि नै थाती मुद्दासमेत छिटो र छरितो अनुसन्धान टुंगो लगाउन यस्तो संयन्त्र विकास गर्न लागिएको हो ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले कार्यभार सम्हाले लगत्तै वैदेशिक रोजगारी ठगी नियन्त्रण प्राथमिकतामा राख्ने घोषणा गरेका थिए ।
सोही अनुसार सचिवस्तरबाट निर्णय गरी वैदेशिक रोजगार विभाग, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र सुरक्षा निकायलाई समेटेर संयन्त्र बनाउन लागिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।


