भेनेजुएलाको नयाँ नेतृत्वलाई ट्रम्पको चेतावनी : ‘सही कदम नचाले मादुरोभन्दा ठूलो मूल्य चुकाउनुपर्नेछ’

सहयात्रा टिभी

काठमाडौं । पुस २१, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी नयाँ अन्तरिम नेता डेलसी रोड्रिग्वेजलाई कडा चेतावनी दिँदै ‘सही कदम नचाले’ उनले पूर्व राष्ट्रपति निकोलस मादुरोले भन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अमेरिकी म्यागजिन द एटलान्टिकसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “यदि उनले (डेलसी) सही काम गरिनन् भने, उनले निकै ठूलो मूल्य चुकाउनुपर्नेछ, सम्भवतः मादुरोले भन्दा पनि ठूलो।” भेनेजुएलामा सत्ता परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै ट्रम्पले अहिलेको अवस्थाभन्दा जुनसुकै विकल्प पनि राम्रो हुने टिप्पणी गरे।

यो चेतावनी यस्तो समयमा आएको हो, जब अपदस्थ गरिएका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइँदैछ। शनिबार काराकासमा अमेरिकी विशेष दस्ताले गरेको हवाई र स्थल आक्रमणका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई अमेरिका लगिएको थियो। अमेरिकाले मादुरोमाथि ‘नार्को-आतंकवादी’ शासन चलाएको र लागुऔषध तस्करी तथा हतियारसम्बन्धी अपराध गरेको आरोप लगाएको छ, जसलाई मादुरोले अस्वीकार गर्दै आएका छन्।

अमेरिकी दाबी: ‘यो युद्ध होइन, कानुनी कारबाही हो’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा गरिएको सैन्य कारबाहीलाई ‘युद्ध’ मान्न अस्वीकार गरेका छन्। आइतबार विभिन्न टेलिभिजन अन्तर्वार्तामा उनले भने, “हामी लागुऔषध तस्करी गर्ने संगठनहरू विरुद्ध युद्धमा छौँ, भेनेजुएला विरुद्ध होइन।” उनले कंग्रेसलाई जानकारी नदिई गरिएको यो अपरेसनलाई ‘कानुनी कार्यान्वयन’ को संज्ञा दिँदै मादुरोलाई एफबीआई एजेन्टहरूले पक्राउ गरेको बताए।

ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न र मुलुकका लागि पैसा कमाउन अमेरिकी तेल कम्पनीहरू त्यहाँ जाने घोषणा समेत गरेका छन्। उनले भेनेजुएलाको तेलमा ‘क्वारेन्टाइन’ (प्रतिबन्ध) लगाइएको र नयाँ नेतृत्वको कदमका आधारमा आगामी रणनीति तय हुने बताएका छन्।

कोलम्बियामाथि पनि सैन्य हमलाको संकेत
राष्ट्रपति ट्रम्पले भेनेजुएलाको छिमेकी मुलुक कोलम्बियालाई पनि धम्की दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै उनले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई ‘बिरामी मान्छे’ को संज्ञा दिए। कोलम्बिया विरुद्ध सैन्य कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “त्यो मलाई ठिकै सुनिन्छ। कोलम्बिया पनि धेरै बिरामी छ, जसलाई एक बिरामी मान्छेले चलाइरहेका छन्, जसलाई कोकिन बनाएर अमेरिकामा बेच्न मन पर्छ।”

आन्तरिक र अन्तर्राष्ट्रिय विरोध
अमेरिकी कदमको विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले भने कडा आलोचना गरेका छन्। हाउस माइनोरिटी लिडर हाकिम जेफ्रिजले यसलाई ‘युद्धको कार्य’ भन्दै कंग्रेसको अनुमति बिना हजारौँ सैनिक र सयौँ विमान प्रयोग गरेर गरिएको यो अपरेसन अवैध भएको बताए। सिनेट माइनोरिटी लिडर चक शुमरले ट्रम्पले ‘अन्तहीन युद्ध’ नगर्ने आफ्नो चुनावी वाचा तोडेको आरोप लगाए।

अन्तर्राष्ट्रिय स्तरमा मादुरोको सहयोगी क्युवाले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। क्युबाका अनुसार अमेरिकी आक्रमणमा ३२ जना ‘बहादुर क्युबाली लडाकु’ मारिएका छन्। ब्राजिल, चिली, मेक्सिको, उरुग्वे र स्पेनले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य कदमले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा पैदा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

हाल भेनेजुएलाको सर्वोच्च अदालतले डेलसी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ खुवाएको छ र सेनाले पनि उनलाई समर्थन गरेको छ। उनी सोमबार स्थानीय समय अनुसार बिहान ८ बजे राष्ट्रपति पदको शपथ लिँदैछिन्। तर, अमेरिकाले भने उनको सरकारलाई अझै वैधता दिएको छैन।

प्रकाशित : 5 January, 2026

प्रतिक्रिया दिनुहोस्