सुनको मूल्य तोलामा ४ हजार ६ सय बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २१, भेनेजुएलामा विकसित पछिल्लो राजनीतिक र सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ। सोमबार नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणमा लिएपछि विश्वव्यापी लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्। यही भू-राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ। साताको अन्त्यमा (शनिबार र आइतबार) अन्तर्राष्ट्रिय बजार बन्द रहने भए पनि सोमबार बजार खुल्नासाथ मूल्यमा तीब्र उछाल आएको हो।

चाँदीको मूल्यमा पनि वृद्धि
सुनसँगै चाँदीको भाउमा पनि उच्च वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला १८५ रुपैयाँले महँगिएको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

विश्व राजनीतिमा आएको यो फेरबदल र सैन्य तनाव कायमै रहेमा सुनचाँदीको मूल्य आगामी दिनमा अझै बढ्न सक्ने अनुमान व्यवसायीहरूले गरेका छन्

प्रकाशित : 5 January, 2026

प्रतिक्रिया दिनुहोस्